after_navbar

वर्षासँगै धान रोपाइँ सुरु, किसानहरू उत्साहित


श्रावण २०, २०८२


फाइल तस्वीर

सुनसरी, १९ साउन । लामो समयदेखि वर्षा नपरेर धान रोपाइँमा समस्या भोगिरहेका सुनसरीका किसानलाई हालैको वर्षाले राहत दिएको छ। शनिबारदेखि परेको वर्षासँगै यहाँका किसानहरू रोपाइँमा जुट्न थालेका छन्।

ad

सुनसरी सदरमुकाम इनरुवा, कोशी, भोक्राहा, हरिनगर, बराहक्षेत्र, देवानगञ्ज, बर्जु, गढी, दुहबी, रामधुनीलगायतका स्थानीय तहमा समयमै पानी नपर्दा रोपाइँ ठप्प जस्तै थियो। अकासे पानीको भरमा खेती गर्दै आएका किसान अहिले वर्षा भएपछि उत्साहित देखिएका छन्।

भोक्राहा नरसिंह गाउँपालिकाका किसान सुरेन्द्र उराँवका अनुसार वर्षाले किसानको अनुहारमा हर्षको झल्को देखिएको छ। उनले भने, “पानी पर्न थालेपछि रोपाइँको काम सुरु भएको छ, अब ढिलो भए पनि धान लगाउने आशा जागेको छ।”

स्थानीय किसान बबलु खड्गा भन्छन्, “पानी नपरेर काम रोकिएको थियो, अब भने सबै किसान रोपाइँमा खटिएका छन्।”

चन्दन मेहताको भनाइमा पानीले सुक्न थालेको रोपो र बीउ जोगिनुका साथै खेतमा काम थाल्न सहज भएको छ। भूमिगत सिचाइँमार्फत केही किसानले खेती गरे पनि पानी अभावले मलखाद हाल्न समेत कठिनाइ भएको थियो।

कृषि ज्ञान केन्द्र इनरुवा सुनसरीका प्रमुख निलकमल सिंहका अनुसार वर्षासँगै बाँकी रहेका क्षेत्रहरूमा पनि रोपाइँ सुरु भएको छ। उनका अनुसार नहर, मोटर, पम्पसेट चल्ने क्षेत्रमा त रोपाइँ पहिले नै चलिरहेको थियो, अब आकाशे पानीले बाँकी क्षेत्रका किसानलाई पनि सहज भएको छ।

वर्षासँगै सुक्खा रहेका खोलानालामा समेत पानीको सतह बढेको छ। इनरुवा र भोक्राहाको सीमामा पर्ने सुनसरी खोला, बूढी खोला, सप्तकोशी, कोसी कटान क्षेत्र, मरिया खोला र गडनालगायत खोलामा पानीको बहाव बढेको स्थानीयवासीले जनाएका छन्।

वर्षाले कृषकको मनमा आशा पलाएको छ। यद्यपि, ढिलो रोपाइँका कारण उत्पादनमा असर पर्न सक्ने चिन्ता भने यथावत छ। तापनि अहिले किसानहरु उत्साहका साथ खेतमा जुटिरहेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="