काठमाडौं, २२साउन । अध्यागमन विभागले एक फ्रान्सकी नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ।
भिसाको उद्देश्य विपरीत नेपालमा बसेर शंकास्पद क्रियाकलापमा संलग्न भएको आरोपमा उनलाई अध्यागमन विभागले काठमाडौंबाट पक्राउ गरेको हो।
विभागका अनुसार उनी विभागको निगरानी सूचीमा रहेकी थिइन् । विभिन्न समयमा गरी १५ पटकभन्दा बढी नेपाल आवतजावत गरेकी थिइन्। यसै आधारमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको हो।
सन् २०१४ मा पहिलोपटक नेपाल आएकी ती महिला वर्किङ भिसा नलिई बारम्बार पर्यटक भिसामा नेपाल आउने–जाने गरेकी थिइन्। भिसा सकिन लाग्दा टर्की, यूएईलगायत देशहरूमा गएर केही समयपछि पुनः नेपाल फर्किनु र यहाँ व्यापारिक गतिविधिमा संलग्न हुनु शंकास्पद देखिएको अध्यागमन अधिकारीहरू बताउँछन्।
विभागले स्पष्ट पारेको छ कि पर्यटक भिसामा नेपाल आएर व्यापार व्यवसाय गर्न पाइँदैन। तर ती महिलाले काठमाडौंको लैनचौरमा बेकरी क्याफे सञ्चालन गरेको, ललितपुरको रैथाने फुड्समा सहलगानी गरेको र कारोबारको रकम आफ्नै बैंक खातामा जम्मा गर्दै आएकी थिइन्।
नेपालमा बस्न उनले वाल्मिकी विद्यापीठमा भर्ना भई पटकपटक अध्ययन भिसा लिएकी थिइन्। तर उनले अध्ययन पूरा गरेको प्रमाण भेटिएको छैन।
“उनका सबै गतिविधि अध्यागमन ऐन र नियमावली विपरीत रहेको पुष्टि भएपछि नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको हो,” अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस