दाङ, १७ भदौ । अर्घाखाँचीमा आफ्नै श्रीमतीको हत्या गरी घरको भान्सामा गाडेको घटनामा संलग्न श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार प्युठान घर भई हाल अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४, पाटालेपोखरामा बस्दै आएका ३६ वर्षीय किरण गुरुङले आफ्नी २६ वर्षीया श्रीमती सुमित्रा कुमाल गुरुङको हत्या गरेका हुन्।
भदौ १४ गतेदेखि सम्पर्कविहीन भएकी सुमित्राबारे माइती पक्षले खोजतलास थालेका थिए। छोरी नपाएपछि उनका बुबाले आइतबार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
निवेदनका आधारमा अनुसन्धान अघि बढाउँदा श्रीमान् किरणले हत्याको स्वीकारोक्ति दिएका प्रहरीको भनाइ छ। उनका अनुसार भदौ १२ गते राति करिब ११ बजे पारिवारिक विवादका क्रममा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका थिए। त्यसपछि घरकै भान्सामा खाडल खनी शव गाडेको बयान दिएका छन्।
उनको स्वीकारोक्तिअनुसार प्रहरी टोलीले घरमा उत्खनन गर्दा सुमित्राको शव फेला पारेको हो। शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल, अर्घाखाँची पठाइएको छ।
प्रहरीले घटनास्थलबाट बञ्चरो, हँसिया, गैंती, बेल्चालगायतका सामग्री बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार किरण र सुमित्राबीच १० वर्षअघि प्रेम विवाह भएको र उनीहरूको ९ वर्षीया एक छोरी रहेकी छन्। घटना भएको दिन अभियुक्तले मादक पदार्थ सेवन गरेको तथ्य खुलेको छ।
प्रहरीले अभियुक्तलाई हिरासतमा राखी थप अनुसन्धान गरिरहेको जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस