after_navbar

तुलसीपुरमा दुई युवकमाथि खुकुरी प्रहार


भदौ १, २०८२


दाङ, १९ भदौ । दाङको तुलसीपुरमा दिउँसो दुई युवकमाथि खुकुरी प्रहार भएको छ।

ad

तुलसीपुर–५ का २० वर्षीय आयुष बिक र सोही उमेरका विप्लभ योगी घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहारबाट आयुषको टाउको र छातीमा गम्भीर चोट लागेको छ भने विप्लभको हातमा सामान्य चोट लागेको छ। घाइतेमध्ये आयुषको अवस्था गम्भीर रहेको बताइएको छ।

विप्लभका अनुसार उनीहरू तुलसीपुर–६ स्याउली बजारस्थित एक नास्ता पसलमा बिहान करिब पौने ११ बजे बसिरहेका बेला ६/७ जनाको समूहमा आएका युवाहरूले एक्कासी धारिलो हतियार प्रहार गरेका हुन्।


“हामी नास्ता गरेर पसलबाट निस्किँदै थियौँ। नजिकै अर्का एक जना पनि थिए, जससँग उनीहरूको पहिले विवाद भएको रहेछ। त्यसपछि ‘केटाहरू लिएर आउँछु’ भन्दै धम्की दिएका उनीहरू मोटरसाइकलमा समूह बनाएर हतियार लुकाएर आएका रहेछन्। हान्न खोजेको खुकुरी त्यसैबेला मलाई र मेरो साथीलाई लाग्यो,” विप्लभले बताए।

घटनाअघि बिहान राप्ती बबई क्याम्पस नजिकै गेम खेल्ने क्रममा ती व्यक्तिबीच विवाद भएको र त्यसकै सिलसिलामा आफूहरू असम्बन्धित हुँदाहुँदै पनि आक्रमणमा परेको विप्लभले बताएका छन्।

घाइते दुबैजनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्राथमिक उपचारपछि थप उपचारका लागि बाँकेस्थित नेपालगञ्ज रिफर गरिएको छ।

घटनामा संलग्न ६/७ जना खुकुरीसहित फरार रहेको र उनीहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="