काठमाडौँ,२४ भदौ । नेपाली कांग्रेसका उपसभापति एवं पाल सरकारका पूर्वउपप्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ डो¥याउन सबै कार्यकर्ता एकैसाथ अघि बढ्नुपर्ने बताएका छन् ।
धादिङको नीलकण्ठ नगरपालिकाले निर्माण गरेको बिपी पार्कको उद्घाटन समारोहमा बोल्दै उनले कांग्रेसको आदर्श र सिद्धान्तलाई व्यवहारमै उतारेर मात्र देशलाई प्रगतितर्फ लैजान सकिने उल्लेख गरे । खड्काले संस्थापक नेता बिपी कोइरालाले प्रतिपादन गरेका समाजवाद, राष्ट्रवाद र लोकतन्त्र आज पनि जनतामाझ सबैभन्दा लोकप्रिय विचार बनेर रहेको बताए ।
उनका अनुसार, “हामीले विगतका कमजोरी सच्याउनुपर्छ, मतदाताका गुनासा सुन्नुपर्छ र स्वीकार्नुपर्छ । नयाँ सङ्कल्प र निष्ठासहित जनतामाझ पुग्दा मात्र कांग्रेसप्रति भरोसा र विश्वास पुनःस्थापित हुन्छ।”
खड्काले कांग्रेसको चारतारे झण्डा र रुखको प्रतीक बोकेर घरदैलोमा पुग्दै विश्वास जित्ने लक्ष्य रहेको प्रस्ट पारे । उनले प्रत्येक सदस्यले बिपीका विचारलाई व्यवहारमा उतारेर मात्र देशलाई आर्थिक समृद्धितर्फ अघि बढाउन सकिने दोहोर्याए ।
सो कार्यक्रममा नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुङ्गानाले नगरपालिकाले सुशासन कायम गर्दै खानेपानी, शिक्षा र स्वास्थ्यमा नमुना काम गरिरहेको जानकारी दिए । उनले बिपी कोइरालाले देखाएको बाटो र सिद्धान्तलाई आधार बनाएर नगरको विकास निर्माण अघि बढाइएको बताए ।
ढुङ्गानाले नगरका ऐतिहासिक, सामाजिक र धार्मिक महत्त्वका स्थानको संरक्षण र विकासमा पनि विशेष ध्यान दिइएको उल्लेख गरे ।
उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, सामाजिक व्यक्तित्व तथा स्थानीय बासिन्दाको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस