काठमाडौँ, २४ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेको छ ।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दल कार्यालयमा सम्पन्न बैठकले जेनजी आन्दोलनमाथि गरिएको दमनको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने भन्दै राजीनामा माग गरेको हो ।
बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार युवाहरूको आक्रोशलाई बुझ्न र सम्बोधन गर्न असफल भएको आरोप लगाए । उनले भने, “सरकारले युवाहरूको आवाज सुन्ने प्रयास गरेन, त्यसकै परिणाम अहिले देखिएको हो । उनीहरूको माग जायज छ, प्रतिपक्षी दलको तर्फबाट हामी संवादमार्फत समाधान खोज्न प्रतिबद्ध छौँ ।”
पुनले युवाहरूको स्वतःस्फूर्त आन्दोलनलाई कुनै पनि राजनीतिक दलले स्वार्थका लागि प्रयोग गर्नु गलत हुने स्पष्ट पारे । साथै, आन्दोलनका क्रममा सरकारबाटै ठूलो नरसंहार भएको भन्दै बैठकले घटनाबारे सत्यतथ्य छानबिन गर्न आयोग गठन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस