काठमाडौँ,२५ भदौ । करिब चार घण्टादेखि जारी जेनजी समूहको जुम बैठकले तत्कालका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्वमा स्वीकार्ने बताएको छ ।
भर्चुअल बैठकमा सहभागी सदस्यहरूले प्रधानसेनापतिसँग वार्तामा जाने व्यक्तिमा कुनै राजनीतिक गन्ध नआउनुपर्ने भन्दै हाल नागरिक अभियन्तामेत रहेकी कार्कीलाई नेतृत्वमा लिन सकिने सहमति जनाएका हुन्।
बैठकमा जेनजी पुस्ताका प्रतिनिधिहरूले कुनै राजनीतिक दलसँग आबद्ध युवाले वा नेताले वार्तामा जान नहुने धारणा राखेका थिए। साथै कार्की विगतमा कुनै दलमा संलग्न रहेकी भए त्यसलाई त्याग गर्नुपर्ने पनि सुझाइएको छ।
बैठकमा निष्कर्ष निकालिँदै भनिएको छ, “पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई स्वीकारेर जान सकिन्छ। त्यसपछि बालेन शाह र सागर ढकालहरू पनि विकल्पमा हुनुहुन्छ। तर अन्तरिम सरकारको नेतृत्वका लागि अहिले कार्की नै उपयुक्त देखिन्छ।”
भर्चुअल छलफलमा सहभागीहरूले तत्कालीन सन्दर्भमा कार्कीभन्दा सक्षम अर्को व्यक्तिको विकल्प नभएको बताए। बैठकमा भनियो, “सुशीला कार्कीको नाममा नोटिस निकालौँ, कार्कीको नाम डन भयो, अब अनाउन्स गरौँ।”
यसअघि प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईंसँग वार्तामा बस्न सुझाव दिएका थिए। तर जेन(जी समूहले सर्वमान्य एजेन्डा र सबैले स्वीकार्ने नेतृत्वमा मात्र अघि बढ्ने अडान लिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस