after_navbar

भागेर भारत पुगेका १२ कैदीबन्दी पक्राउ, नेपाल प्रहरीलाई जिम्मा


भदौ २६, २०८२


काठमाडौं, २६ भदौ । जलेश्वर कारागारबाट भागेका १२ जना कैदीबन्दीलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीको जिम्मा लगाएको छ।

ad

भदौ २४ गते भएको घटनामा जलेश्वर कारागारका ५७५ कैदी फरार भएका थिए। तीमध्ये भारततर्फ भागेका १२ जनालाई भारतीय प्रहरीले विभिन्न स्थानबाट नियन्त्रणमा लिई बिहीबार नेपाल प्रहरीलाई बुझाएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक शैलेन्द्र भट्टका अनुसार पक्राउ परेकामध्ये ९ जनालाई भिटामोड नाकामा ल्याएर बुझाइएको छ भने ३ जनालाई वथनाहा चौकीमार्फत् हस्तान्तरण गरिएको हो।

पक्राउ परेकामध्ये धनुषा, महोत्तरी, मकवानपुर लगायत विभिन्न जिल्लाका साथै भारतका वैशाली, सितामढी र पूर्वी चम्पारणका व्यक्तिहरु रहेका छन्। पक्राउ परेकामध्ये रामगुलाम महतो, बिनोद राय, मुजाहिद अंसारी, इन्द्रेस मण्डल, सुरेन्द्र साह सोनार, आनन्द मोहन कुमार, कृष्णकुमार महतो, बलबिन कुमार महतो, जियाउल रहमान, गुड्डु कुमार यादव, रेयाज दफाली र राजेश तामाङ रहेका छन्।

जलेश्वर कारागारका निमित्त प्रमुख रविनचन्द्र ठाकुरका अनुसार भागेकामध्ये हालसम्म ३७ जना कैदीबन्दी फर्किसकेका छन्। तीमध्ये २५ जना आफैं स्वेच्छाले फर्किएका हुन् भने १२ जनालाई भारतीय प्रहरीले समातेर नेपाल प्रहरीलाई बुझाएको हो।

कारागार प्रशासनले २४ घण्टाभित्र स्वेच्छाले फर्किन अपिल जारी गरेपछि बुधबार रातिदेखि कैदीबन्दीहरू सम्पर्कमा आउन थालेका हुन्। प्रमुख ठाकुरका अनुसार अपिलपछि अभिभावक र आफन्तहरूकै दबाबमा धेरै कैदीबन्दी स्वेच्छाले फर्किन थालेका छन्।

भदौ २४ गते साँझ आन्दोलनकारीहरूले कारागार कब्जा गरी कैदी रिहाईको माग गर्दै आक्रमण गरेपछि ठूलो भिड नियन्त्रणबाहिर गएर गेट तोडिएको थियो। त्यसपछि ५७६ मध्ये ५७५ जना कैदी भागेका थिए। सो घटनामा दिपक कुमार यादव भने मानसिक स्वास्थ्य समस्याका कारण नभागी कारागारमै रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="