after_navbar

पोखरा मेयरको घरमा आगजनी प्रकरण : रास्वपा सभापति थापा निलम्बन


भदौ ३०, २०८२


काठमाडौं,३० भदौ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा भएको तोडफोड र आगजनी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताको संलग्नता देखिएको छ।

ad

भदौ २४ गते दिउँसो मेयर आचार्यको पोखरा–९ नयाँबजारस्थित घरमा एउटा समूहले तोडफोड गरेको थियो। सोही रात अर्को समूहले घरमा आगजनी गरेको थियो। राति भएको आगजनीमा रास्वपा पोखरा–१० का सभापति चन्द्रबहादुर थापा संलग्न रहेको खुलेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा थापा घरभित्रका सामान जलाइरहेको देखिन्छ। भिडियो सार्वजनिक भएपछि रास्वपा गण्डकी प्रदेश अनुशासन आयोगले सोमबार थापालाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गर्ने निर्णय गरेको हो। आयोगका प्रमुख योगेन्द्र केसीले पार्टी आचारसंहिताबाहिर गएर अवाञ्छित गतिविधिमा संलग्न देखिएकाले अर्को निर्णय नहुँदासम्म थापालाई निलम्बन गरिएको जानकारी दिएका छन्।

निलम्बित सभापति थापाले पनि आफ्नो गल्ती स्वीकार गरेका छन्। फेसबुकमा स्टाटस लेख्दै उनले भीडको उत्तेजनामा केही गलत भएको हुनसक्ने बताएका छन्। उनका अनुसार, आगलागी हुँदा वरपरका घरमा क्षति नहोस भन्ने उद्देश्यले भित्रको सामान बाहिर निकालेर जलाउन सुझाव दिएको मात्र हो। घटनामा पार्टीको कुनै निर्देशन नरहेको र दोषी ठहर भए कानुनअनुसार कारबाही भोग्न तयार रहेको उनले बताएका छन्।

मेयर आचार्यले भने भिडियो हेर्दा आफ्नै घर र महानगर कार्यालय दुवैमा रास्वपा कार्यकर्ताको संलग्नता स्पष्ट देखिएको दाबी गरेका छन्। ‘मेरो घरमा देखिने मान्छे महानगरमा पनि देखिएका छन्,’ उनले भने। आगलागीबाट परिवारका कागजात, पुराना तस्बिर, करिब चार हजार पुस्तक जलेर नष्ट भएको उनले जानकारी दिएका छन्।

विदेश भ्रमणबाट फर्किएका मेयर आचार्य अहिले काठमाडौंमा छन्। घटनापछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो घरलाई ‘घुसपैठले ध्वस्त पारेको’ भन्दै दुख व्यक्त गरेका छन्। ‘म मेयर बनेपछि कुनै आर्थिक लाभ लिएको छैन। मेरो नाममा आउने मासिक सुविधा विद्यार्थी र सामाजिक क्षेत्रमा खर्च गर्दै आएको कुरा तथ्य हो,’ आचार्यले भनेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="