रुपन्देही,१ असोज । रुपन्देहीमा तालमा डुबेर दुईजनाको मृत्यु भएको छ । जिल्लामा रहेको गैंडहवामा तालमा पौडी खेल्ने भन्दै पुगेका उनीहरूको बुधबार दिउँसो डुबेर मृत्यु भएको हो।
प्रहरीका अनुसार मृत्यु हुनेमा गैंडहवा गाउँपालिका वडा नं. १ असिहवाका करिब १७–१८ वर्षका दीपेश थारू र अरूण थारू छन्।
इलाका प्रहरी कार्यालय, रूद्रपुर, रूपन्देहीका प्रहरी निरीक्षक पुष्प रोकायका अनुसार बुधबार अपराह्न ४ बजे उनीहरू पौडी खेल्ने क्रममा डुबेका थिए।
उनीहरू घरका कसैलाई जानकारी नगराई घरदेखि करिब ७ किलोमिटरको दुरीमा रहेको गैंडहवा तालमा पौडी खेल्ने भन्दै पुगेका थिए।
युवाहरू डुबेको ठाउँ बस्ती रहेको किनारा भन्दा टाढा जङ्गलको छेउ पर्ने भएकोले सहजै जान नसकिएको स्थानीयले बताएका छन्।
प्रहरीका अनुसार सुरूमा दीपेश पौडी खेल्न तालमा पसेका थिए। दीपेश तालमा डुबेको देखेपछि उद्धार गर्न तालमा पसेका अरूण पनि डुबेका थिए।
युवाहरू तालमा डुबेको देखेका स्थानीय उद्धारको लागि पुग्दा उनीहरूको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
प्रहरी निरीक्षक रोकायले घटनास्थल र घटनाको प्रकृतिको मुचुल्का बनाएर मृतकहरूको शवलाई पोस्टमर्टमका लागि भैरहवास्थित भीम अस्पताल लगिएको जानकारी दिए।
गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले टाढा रहेका स्थानीयले युवाहरू डुबेको देखे पनि उद्धारका लागि घुमेर जानुपर्दा बचाउन नसकिएको बताए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस