चितवन, ९ असोज । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा पहिरोमा फसेका यात्रुहरूलाई लक्षित गर्दै नेपाल प्रहरीले निःशुल्क बस सेवा सुरु गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार मंगलबारदेखि रोकिएका यात्रुहरूलाई सहयोग गर्न प्रहरीले बस सेवा सञ्चालन गरेको हो। प्रहरी स्कुल शान्तिपुरका दुईवटा बस प्रयोग गरी यात्रुहरूलाई भरतपुरसम्म पुर्याइने व्यवस्था गरिएको उनले बताए।
तनहुँतर्फको बाटो हुँदै पाँचकिलोसम्म आएका यात्रुहरूलाई लक्षित गरी बस पठाइने गरिएको छ। सुरुमा पहिरो खसेको स्थानमै पुगेर यात्रु ल्याइए पनि अहिले पाँचकिलोमा यात्रु जम्मा भएपछि प्रहरीलाई खबर दिई बस पठाइने गरिएको छ।
सडक अवरुद्ध भएपछि यात्रुहरूलाई पैदलै वैकल्पिक बाटो लिनुपर्ने बाध्यता थियो। लामो समयसम्म सडक खुल्ने सम्भावना नभएपछि अलपत्र परेकालाई सहज बनाउन निःशुल्क बस सेवा सुरु गरिएको प्रहरीले जनाएको छ।
मंगलबार खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो। गत शुक्रबार खसेको पहिरो पन्छ्याएर सडक सञ्चालनमा ल्याइए पनि फेरि मंगलबार ठूलो पहिरो खसेपछि यातायात ठप्प भएको छ। अहिले पनि बिहानैदेखि पहिरो पन्छ्याउने काम भइरहेको छ र शुक्रबारसम्म सडक सञ्चालनमा ल्याउने अनुमान गरिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस