after_navbar

सामान्य विवादपछि चक्कु प्रहार, एक जनाको मृत्यु


कार्तिक ०, २०८२


कास्की,८ कार्तिक । पोखरामा सामान्य विवादका क्रममा चक्कु प्रहार हुँदा एक जनाको मृत्यु भएको छ।

ad

पोखरा–५ प्रस्याङस्थित एक रेस्टुरेन्टमा रक्सी पिउँदै गरेका बेला विवाद भएपछि भएको चक्कु प्रहारबाट स्थानीय ४५ वर्षीय अनिल पराजुलीको मृत्यु भएको हो। उनलाई चक्कु प्रहार गर्ने २४ वर्षीय किशोर तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

शुक्रबार राति पराजुली र तिमिल्सिना सँगै बसेर मदिरा सेवन गर्ने क्रममा विवाद भएको थियो। पहिलो भेटमै सामान्य विवाद भएका उनीहरूबीच दोस्रो भेटमा पुनः झगडा भएपछि पराजुलीले तिमिल्सिनालाई थप्पड हानेका थिए। त्यसपछि रिसले चुर भएका तिमिल्सिना रेस्टुरेन्टबाट बाहिरिन खोज्दा पराजुलीले माफी मागेका थिए।

तर, तिमिल्सिना शान्त हुन सकेनन्। रेस्टुरेन्टबाट बाहिरिँदा उनले चक्कु लिएर निस्किए र करिब ५० मिटर टाढा गएर पराजुलीमाथि पछाडिबाट प्रहार गरे। चक्कु पराजुलीको छाती र घाँटीमुनि लाग्दा मुटु र फोक्सोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

विहान करिब ३:०५ बजे अचेत अवस्थामा फेला परेका पराजुलीलाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो, तर ३:४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि तिमिल्सिना इनड्राइभमार्फत सवारी बोलाएर लेकसाइडको एक होटलमा गएर लुकेका थिए। तर, प्रहरीले आफन्तको सहयोगमा उनलाई पक्राउ गर्न सफल भएको जनाएको छ।

प्रहरीले घटनास्थलबाट प्रयोग गरिएको चक्कु बरामद गरेको र तिमिल्सिनामाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रवक्ता बस्नेतले बताए।
उनका अनुसार, “सामान्य विवादमै चक्कु प्रहार भएको देखिन्छ। उनीहरूबीच नजिकको सम्बन्ध थिएन, विवाद पनि सामान्य नै थियो। तर एकै पटकको प्रहारले ज्यान गएको छ।”

पराजुली र तिमिल्सिना दुवै जग्गा कारोबारीमा संलग्न रहेको पनि प्रहरीले जनाएको छ। सराङकोट स्थायी घर भएका तिमिल्सिना हाल पोखरा–५ प्रस्याङमा घर बनाएर बस्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="