after_navbar

अझै ५ हजार कैदी फरार


कार्तिक ११, २०८२


काठमाडौ,१० कार्तिक । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये करिब ५ हजार कैदी अझै फरार रहेका छन्।

ad

प्रदर्शन चर्किएपछि देशभरका २८ वटा कारागारबाट १३ हजार ५८५ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी कुल १४ हजार ५४९ जना बन्दी भागेका थिए। तीमध्ये हालसम्म नौ हजार ५८२ जना मात्र कारागार फर्केका छन् । जसमा नौ कैदी र ५८२ बालबन्दी छन्।

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार हालसम्म चार हजार ५९६ कैदी र ३८६ बालबन्दी गरी कुल चार हजार ९८२ जना बन्दी अझै फरार छन्।

सरकारले फरार कैदीबन्दीलाई स्वेच्छाले कारागार फर्किन ‘अल्टिमेटम’ दिएको छ। फरार बन्दीको खोजी र नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरिएको छ। सो अभियानअन्तर्गत सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका कैदीबन्दीलाई सम्बन्धित कारागारमा बुझाइरहेका छन्।

गृह मन्त्रालयले फरार बन्दीको खोजी तथा पक्राउका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा निकायका प्रतिनिधि सदस्य रहने गरी ‘फरार बन्दी खोजी तथा नियन्त्रण कार्यदल’ गठन गरेको छ।

प्रदर्शनको मौका पारेर सुनसरीको झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, काठमाडौँ (नक्खु, डिल्लीबजार, जगन्नाथदेवल), मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, दाङ तुलसीपुर, नौवस्ता बाँके, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर कारागारबाट १३ हजार ५८५ जना कैदीबन्दी भागेका थिए। यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटी बालसुधारगृहबाट ९६४ बालबन्दी भागेका थिए।

सुरक्षा घेरा तोड्ने क्रममा रामेछापमा तीन, धादिङ र सप्तरीमा दुई–दुई कैदीको गोली लागी मृत्यु भएको थियो। त्यस्तै, नौवस्ता बालसुधारगृहमा झडप हुँदा पाँच र डोटी बालसुधारगृहमा एक बालबन्दीको मृत्यु भएको थियो।

कारागार कार्यालयहरूले फरार बन्दीलाई अविलम्ब आत्मसमर्पण गर्न सूचित गर्दै आएका छन्। सरकारले सूचनालाई बेवास्ता गर्नेहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

देशभरका ७२ जिल्लामा रहेका ७५ वटा कारागार र बालसुधारगृहमा विभिन्न कसुरमा सजाय भोगिरहेका कुल ३० हजार ६४१ कैदी र बालबन्दी रहेका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="