दाङ,११ कार्तिक । बाहिरका निजी क्लिनिक वा अस्पतालका चिकित्सकबाट सिफारिस भएर आएका बिरामीले अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिधै एमआरआई, सिटी स्क्यान लगायतका सेवा लिन सक्ने भएका छन्।
प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा.डा. जनार्दन पन्थीका अनुसार बाहिरका चिकित्सकले पर्चा दिएर सिफारिस गरेका बिरामीलाई अब ओपीडीमा छुट्टै पर्चा काट्नुपर्ने छैन। उनीहरूले सिधै बिलिङ गरी सेवा लिन सक्ने व्यवस्था गरिएको हो।
उनका अनुसार बाहिरका चिकित्सकको सिफारिससहित आएका बिरामीले एमआरआई, सिटी स्क्यानसँगै सुगर र प्रेसर जाँचजस्ता सामान्य परीक्षण पनि सिधै बिलिङ गरेर गराउन सक्ने छन्।
यो व्यवस्था लागू भएपछि बाहिरका चिकित्सकबाट सिफारिस भएका बिरामीलाई अनावश्यक ढिलाइ र झन्झट बिना सहज रूपमा सेवा लिन सकिने भएको छ।
प्रतिक्रिया दिनुहोस