काठमाडौ,१७ कार्तिक । पाँचथरको हिलिहाङ गाउँपालिकामा छोराले आफ्नै बाबुको हत्या गरेको घटना सार्वजनिक भएको छ।
हिलिहाङ गाउँपालिका–१ फेदापाका ६९ वर्षीय युवराज राईलाई उनका कान्छा छोरा ३१ वर्षीय सन्देश राईले हत्या गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
आइतबार बिहान करिब १०ः३० बजे घरदेखि करिब ५०० मिटर टाढा रहेको करेसाबारीमा युवराजको शव फेला परेको थियो। शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि प्रहरी हत्याको आशंकामा अनुसन्धानमा जुटेको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा युवराजका कान्छा छोरा सन्देशले बाबुको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिएका छन्।
प्रहरीले सन्देशलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ। मृतक युवराजको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल फिदिम लगिएको प्रहरीले जनाएको छ।
हत्याको कारण भने अझै स्पष्ट भएको छैन र घटनाबारे थप अनुसन्धान जारी रहेको पाँचथर प्रहरीले जानकारी दिएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस