काठमाडौ,३मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बिहीबारदेखि सिंहदरबार परिसरबाटै सेवा प्रवाह गर्न लागिएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सिंहदरबारको दक्षिण–पश्चिम भागमा रहेका नेपाली सेनाको नर्सिङ दल गणले आफ्नो कार्यालय उत्तरतर्फ सारेसँगै खाली भएको जग्गामा अस्थायी प्रिफ्याब भवन निर्माण गरिएको छ। विश्व स्वास्थ्य संगठन (WHO) को सहयोगमा तयार पारिएका ६ वटा प्रिफ्याब भवनमा बिहीबारदेखि औपचारिक रूपमा काम सुरु हुने बताइएको छ।
गत भदौ २४ मा ‘जेनजी’ आन्दोलनका क्रममा आगलागी हुँदा रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयको भवन पूर्ण रूपमा जलेर नष्ट भएको थियो। हाल मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को नयाँ भवनबाट कार्यरत छ।
प्रवक्ता बुढाथोकीका अनुसार जनसंख्या महाशाखा र स्वास्थ्य आपतकालीन केन्द्र बाहेकका सबै कार्य अब सिंहदरबारमै सञ्चालन हुनेछन्। उनले आवश्यक संरचनाहरूको थप व्यवस्थापन पूरा भएपछि केही दिनमै मन्त्रालय पूर्ण रूपमा सिंहदरबार सर्ने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस