काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे आगामी प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नहुने भएका छन्। २०७९ सालमा बाजुराबाट प्रत्यक्ष निर्वाचित पाण्डेले चुनावी प्रतिस्पर्धा नगर्ने निर्णय गरेपछि उनको नाम सिफारिस गरिएको छैन।
पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहेका पाण्डेले नयाँ पुस्तालाई अवसर दिनका लागि चुनाव नलड्ने निर्णय गरेको बताए। उनले भने, “सांसद र मन्त्री भइसकेँ। नयाँ पुस्तालाई अवसर दिनुपर्छ भन्ने सोचेर चुनाव नलड्ने निधो गरेँ। पार्टी सुदृढीकरणको काममा आफू लाग्नेछु।”
पाण्डेका अनुसार प्रतिनिधि सभाको प्रत्यक्ष, समानुपातिक र राष्ट्रिय सभा सदस्यको उम्मेदवारका लागि उनको इच्छा छैन।
जेनजी आन्दोलनको बेला पाण्डे एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री थिए। उनले सरकार र आन्दोलनकारीको सम्बन्धमा आफ्नो प्रत्यक्ष भूमिका नरहे पनि मन्त्रीको नाताले नैतिक जिम्मेवारी आफूले लिने बताए।
पाण्डेले यसपटक निर्वाचन प्रतिस्पर्धामा नउत्रिने निर्णय लिनु उचित ठानेको र पार्टीलाई वैचारिक रूपमा सुदृढ बनाउने काम आफ्नो प्राथमिकता रहेको पनि स्पष्ट पारे।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस