after_navbar

तुलसीपुरमा सर्प उद्धार तथा व्यवस्थापन तालिम सुरु


१ घण्टा अगाडि


दाङ,९ असार । दाङको तुलसीपुरमा सर्प उद्धार तथा व्यवस्थापनसम्बन्धी दुई दिने तालिम सुरु भएको छ।
“वन, वन्यजन्तु र जैविक विविधताको संरक्षण गरौँ” भन्ने नारासहित डिभिजन वन कार्यालय दाङ (घोराही) को आयोजनामा सोमबारदेखि तालिम सञ्चालनमा आएको हो।

डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत ओम प्रसाद वलीको अध्यक्षता तथा नेपाल प्रेस युनियन दाङका उपाध्यक्ष गोपाल शर्मा भट्टराई प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरिएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्न यस्ता तालिम प्रभावकारी हुने बताए। सर्पहरूको सुरक्षित उद्धार तथा व्यवस्थापनले वातावरणीय सन्तुलन कायम गर्न मद्दत पुग्ने उनले बताए।

वरिष्ठ वन अधिकृत वलीले सर्पको टोकाइबाट बच्ने उपाय तथा सर्प संरक्षणलाई ध्यानमा राख्दै तालिम आयोजना गरिएको जानकारी गराए। उनले वन कर्मचारी तथा सरोकारवालाहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको बताए।

असार ९ र १० गतेसम्म सञ्चालन हुने तालिमका प्रमुख प्रशिक्षक वसन्त सुवेदी रहेका छन्। उनले सर्पको पहिचान, व्यवहार, सुरक्षित रूपमा उद्धार गर्ने तरिका तथा व्यवस्थापनका विषयमा प्रशिक्षण दिइरहेका छन्। तालिमका क्रममा व्यावहारिक प्रदर्शन (डेमो) समेत गरिएको थियो।

तालिममा वन कार्यालयका कर्मचारी, वन रक्षक, स्थानीय समुदायका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="