काठमाडौं ,४ पुस। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका कपिलवस्तु शिवराज नगरपालिका–५ का ५४ वर्षीय पवित्र प्रकाश अधिकारी, भोजपुर षडानन्द नगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ३३ वर्षीया बबिता विश्वकर्मा र भक्तपुर चाँगुनारायण नगरपालिका–९ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–५ बस्ने २५ वर्षीय साइरज सुबेदी रहेका छन्।
प्रहरीका अनुसार पवित्र प्रकाश अधिकारीले अल्बानिया पठाइदिन्छु भन्दै चार जना पीडितबाट १९ लाख रुपैयाँ, बबिता विश्वकर्माले क्यानडा पठाइदिन्छु भन्दै दुई जना पीडितबाट १९ लाख रुपैयाँ तथा साइरज सुबेदीले अमेरिका पठाइदिन्छु भन्दै तीन जना पीडितबाट ११ लाख १४ हजार ५ सय रुपैयाँ लिई ठगी गरेको आरोप छ।
पीडितहरूले उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले पवित्र प्रकाश अधिकारी र बबिता विश्वकर्मालाई काठमाडौं महानगरपालिका–३२ बाट तथा साइरज सुबेदीलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बाट पक्राउ गरेको हो।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस