दाङ, २६ पुस । घर आँगनमा पार्किङ गरी राखिएको अटोमा आगजनी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। दाङको घोराही उपमहानगरपालिका–१३ प्रगतिनगर टोलमा पार्किङ गरी राखिएको अटो रिक्सामा आगजनी गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा रोल्पा माडी गाउँपालिका–६ स्थायी ठेगाना भई हाल दाङ घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ बस्ने १८ वर्षीय सन्देश नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।
प्रहरीका अनुसार पुस २४ गते बिहीबार राति करिब साढे १ बजे सोही स्थानका जीवन वलीले आफ्नो घरको आँगनमा पार्किङ गरी राखेको रा १ ह २७५७ नम्बरको अटो रिक्सामा आगो लगाइएको थियो ।
घटनापछि अनुसन्धान गर्ने क्रममा प्रहरीले सोही दिन बेलुका करिब ६ः०० बजे घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्क क्षेत्रबाट सन्देश नेपालीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका नेपालीलाई दाङ जिल्ला अदालत घोराहीबाट ५ दिनको म्याद थप अनुमति लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस