after_navbar

दाङमा विद्यालय केन्द्रित नियमित HPV खोप अभियानबारे अन्तरक्रिया


माघ २३, २०८२



दाङ, २२माघ । दाङमा एचपिभी खोपका बारेमा अन्तरक्रिया कार्यक्रम सन्चालन भएको छ। जिल्ला स्वास्थ्य कार्यालय दाङले एचपिभी खोप अभियानको प्रगति मूल्याङ्कन गर्ने उद्देश्यले उक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

स्वास्थ कार्यालयले नियमित खोप कार्यक्रममा विद्यालय केन्द्रित एचपीभी (HPV) खोप अभियान सञ्चालनका विषयमा बिहिवार जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी तथा सरोकारवालाहरूबीच अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको हो।

स्वास्थ्य कार्यालय दाङको आयोजनामा सम्पन्न कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक तथा जिल्ला खोप समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।

कार्यकममा दाङका प्रमुख जिल्ला अधिकारी अर्यालले विद्यालयभित्रका साथै विद्यालयबाहिर रहेका यस उमेर समूहका किशोरीलाई समेत खोपको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै खोपको भण्डारण, व्यवस्थापन तथा खोप खेर जाने चुनौतीप्रति सम्बन्धित निकायलाई गम्भीर हुन निर्देशन दिए।

क्षयरोग/कुष्ठरोग/सु.निरीक्षक ओलीले HPV खोपका सम्भावित साइड इफेक्टबारे स्पष्ट जानकारी गराउँदै खोप सुरक्षित रहेको बताए। सामान्य साइड इफेक्ट देखिएमा खोप केन्द्रमै स्वास्थ्य हेल्पडेस्क तथा प्रत्येक पालिकाका अस्पतालमा स्थानीय चिकित्सक उपलब्ध रहेको जानकारी उनले गराए।

जिल्ला खोप समन्वय समितिका प्रमुखसमेत रहेका जिल्ला समन्वय समितिका संयोजक शर्माले अभिभावक र विद्यालयको सहकार्यबिनाको खोप कार्यक्रम सफल नहुने उल्लेख गर्दै अभियानको पूर्ण सफलताको शुभकामना व्यक्त गरे।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सुवेदीले लक्षित उमेर समूहका सबै किशोरीलाई खोपको दायरामा ल्याउनुपर्ने आवश्यकता औँल्याए। कुनै पनि किशोरी खोपबाट वञ्चित नहुने गरी योजना बनाउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा स्वास्थ्य कार्यालय दाङका प्रमुख ठगबहादुर गुरुङ, क्षयरोग/कुष्ठरोग/सु.निरीक्षक भानुज्योति ओली, सुवेदी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. विकास गौचनलगायत सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


सो अवसरमा , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गौतनले HPV खोपलाई छोरीका लागि उत्कृष्ट उपहारको संज्ञा दिँदै खोप सुरक्षित र प्रभावकारी रहेको बताए। उनले सबै अभिभावकलाई ढुक्क भएर आफ्ना छोरीलाई खोप लगाउन आग्रह गरे।

साथै तुलसीपुर क्षेत्रमा प्रादेशिक अस्पताल र घोराही–लमही क्षेत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सेवा उपलब्ध रहेको बताए।

स्वास्थ्य कार्यालयका अनुसार माघ २५ देखि फागुन १५ सम्म नियमित HPV खोप कार्यक्रम सञ्चालन हुनेछ। यसअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय नजाने १० वर्ष उमेरका किशोरी, गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेरका किशोरीलाई लक्षित गरिएको छ।

कार्यक्रममा HPV खोप निःशुल्क, सुरक्षित तथा जीवनरक्षक रहेको जानकारी गराउँदै गर्भाशयमुखको क्यान्सर रोकथाममा यो खोप अत्यन्त प्रभावकारी हुने बताइएको छ। विद्यालय केन्द्रित खोप अभियानलाई थप प्रभावकारी बनाउन स्वास्थ्य संस्था, विद्यालय र समुदाय अझ जिम्मेवार हुनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="