काठमाडौँ,२९ माघ । स्वदेशमा अपराध गरेर विदेशमा लुकेका १० जना फरार प्रतिवादीलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलको समन्वयमा पक्राउ गरी नेपाल फर्काएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेले चालु आर्थिक वर्षमा ११ जनाविरुद्ध ‘रेड नोटिस’ र तीन जनाविरुद्ध ‘डिफ्युजन’ जारी भएको जानकारी दिए। तीमध्ये रेड नोटिस जारी भएका ८ जना र डिफ्युजन जारी भएका २ जनालाई विभिन्न देशबाट पक्राउ गरी स्वदेश ल्याइएको उनले बताए।
अघिल्लो आर्थिक वर्षमा भने ३४ जनाविरुद्ध रेड नोटिस र २ जनाविरुद्ध डिफ्युजन जारी गरिएको थियो। तीमध्ये १७ जना रेड नोटिस र ३ जना डिफ्युजन जारी भएका प्रतिवादीलाई पक्राउ गरी नेपाल फिर्ता ल्याइएको प्रहरीले जनाएको छ।
प्रवक्ता काफ्लेले इन्टरपोलसँगको सहकार्यमा फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउने कार्य निरन्तर जारी रहेको उल्लेख गर्दै अपराध गरेर विश्वको जुनसुकै स्थानमा लुके पनि कानुनबाट उम्किन नसक्ने स्पष्ट पारे।
उनले देशमा शान्ति सुव्यवस्था कायम राख्न, आसन्न निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न तथा अपराध अनुसन्धान र नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल प्रहरी विभिन्न सुरक्षा रणनीतिसहित सक्रिय रूपमा परिचालित भइरहेको बताए।
फरार प्रतिवादीहरूको अन्तर्राष्ट्रिय खोजतलासका लागि नेपाल प्रहरीअन्तर्गतको नेसनल सेन्ट्रल ब्युरो (एनसिबी) को अनुरोधमा इन्टरपोल महासचिवालयले आवश्यक नोटिस जारी गर्दै आएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस