after_navbar

राजनीतिबाट बिदा लिने रविन्द्र मिश्रको घोषणा


४ घण्टा अगाडि


काठमाडौं,२३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि बिदा लिने घोषणा गरेका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

ad

शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत वक्तव्य जारी गर्दै मिश्रले देशभरि राजसंस्था पुनर्स्थापनाको पक्षमा व्यापक जनमत रहेको भए पनि त्यसलाई संगठित र प्रभावकारी रूपमा अघि बढाउन पार्टी सफल हुन नसकेको बताएका छन् । पार्टीका वरिष्ठ उपाध्यक्षको हैसियतले त्यसको जिम्मेवारी आफूले पनि लिनुपर्ने उनले उल्लेख गरेका छन् ।

मिश्रले आजकै मितिबाट लागू हुने गरी पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएको जनाउँदै अब केही समय गैरदलीय (स्वतन्त्र) रूपमा आफ्नो विचार र अडान व्यक्त गर्दै जाने बताएका छन् ।

उनले राजसंस्था पुनर्स्थापना, सुशासन तथा देशको हितका विषयमा आफ्नो अडान भने यथावत रहने स्पष्ट पारेका छन् । बदलिँदो भूराजनीतिक अवस्था र देशभित्र देखिएको जटिल परिस्थितिका बीच नयाँ समझदारी र संरचनागत पुनरावलोकन आवश्यक रहेको उनको भनाइ छ ।

पछिल्लो ९ वर्षको राजनीतिक यात्रामा आफूले सकेसम्म इमानदारीपूर्वक देश र राजनीतिक रूपान्तरणका लागि प्रयास गरेको उल्लेख गर्दै उनले भविष्यमा पनि देशको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

साथै उनले हालै सम्पन्न निर्वाचनमा सफलता हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी लाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="