काठमाडौ,३ चैत । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रवि लामिछानेसम्बन्धी मुद्दामा नेपालको सर्वोच्च अदालतमा जारी सुनुवाइ बिहीबार सकिने र सोही दिन फैसला आउन सक्ने बताएका छन्।
उनका अनुसार अन्य सबै पक्षको बहस सकिएको छ भने अब उनको मात्र जवाफी बहस बाँकी रहेकाले मुद्दा चाँडै किनारा लाग्ने सम्भावना रहेको छ। “अरू सबै बहस सिद्धिसकेको छ, मेरो मात्र जवाफी बहस बाँकी छ,” उनले भने, “बिहीबार बहस टुंगिन्छ र अदालतले निर्णय सुनाउँछ भन्ने आशा छ।”
न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा उक्त रिटमाथिको सुनुवाइ तेस्रो दिन पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ।
त्रिपाठीका अनुसार बिहीबार नै फैसला आउने सम्भावना प्रबल रहे पनि इजलासले आवश्यक ठानेमा निर्णयका लागि छुट्टै मिति तोक्न सक्ने विकल्प खुला छ।
यसअघि महान्यायाधिवक्ता सविता भण्डारी बरालले गत पुस ३० गते लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग हटाउँदै सहकारी ठगीसम्बन्धी मुद्दा मात्र कायम राख्न स्वीकृति दिएकी थिइन्।
लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध गरिएको दाबी गर्दै दिएको निवेदन तथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४को दफा ३६का आधारमा उक्त निर्णय गरिएको थियो।
उक्त निर्णयपछि पोखरा, काठमाडौं, पर्सा, चितवन र रूपन्देहीका सरकारी वकिल कार्यालयहरूले अभियोग संशोधनका लागि सम्बन्धित जिल्ला अदालतमा निवेदन दिएका थिए।
तर महान्यायाधिवक्ताको निर्णय गैरकानुनी भएको दाबी गर्दै दायर रिटका आधारमा कास्की र रूपन्देही जिल्ला अदालतले अभियोग संशोधनसम्बन्धी निवेदनमा हाल कुनै निर्णय नगर्ने आदेश दिएका छन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस