हामी नेपालीहरूको दैनिकी प्राय सामान्य देखिन्छ—आमाको हातको चियाको सुँगन्धले भरेको बिहान, श्रीमतीले प्रेमले पकाएको खाना, हाँसो र दौडधुपले भरिएको दिदीबहिनीहरूको दैनिकी। तर कहिलेकाहीँ यस सामान्य जीवन भित्र एउटा गहिरो रहस्य लुकेको हुन्छ, जुन बाहिरबाट कहिल्यै देखिँदैन।
बाहिरबाट हेर्दा जीवन सहज, सुन्दर र व्यवस्थित लाग्छ। तर यही सामान्य जीवनभित्र कहिलेकाहीँ एउटा गम्भीर खतरा लुकेको हुन्छ—त्यो हो महिलाको शरीरभित्र चुपचाप बढिरहेको रोग, जसले विना आवाज, विना स्पष्ट संकेत ज्यान नै खोस्न सक्छ।
नेपालमा पछिल्ला वर्षहरूमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका बिरामीहरूको संख्या बढ्दो क्रममा रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन्। यी दुवै क्यान्सर समयमै पत्ता लागेमा पूर्ण रूपमा निको हुन सक्छन्, तर ढिलाइ र बेवास्ताका कारण धेरै महिलाले अकालमै ज्यान गुमाइरहेका छन्। विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरूमा क्यान्सर सम्बन्धी जाँच गर्ने प्रवृत्ति अझै न्यून रहेको पाइन्छ। लाज–संकोच, जानकारीको अभाव र स्वास्थ्य सेवामा सीमित पहुँचका कारण धेरैजसो महिलाहरू रोगको अन्तिम चरणमा मात्र उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।
पाठेघरको मुखको क्यान्सरलाई ‘मौन रोग’ पनि भनिन्छ, किनकि सुरुवाती चरणमा लक्षण प्रायः देखिँदैन। असामान्य रगत बग्नु, तल्लो पेट दुख्नु वा थकान जस्ता सामान्य लक्षणलाई धेरै महिलाले बेवास्ता गर्ने गर्छन्। त्यस्तै, स्तन क्यान्सरमा देखिने सानो गाँठो वा स्तनमा आएको परिवर्तनलाई पनि गम्भीर रूपमा नलिने प्रवृत्ति देखिन्छ। स्वास्थ्य विज्ञहरूको अनुसार, “लक्षण देखिनु भनेको धेरै अवस्थामा ढिलो भइसकेको संकेत हो।”
विशेषज्ञहरूका अनुसार पाठेघरको क्यान्सरको मुख्य कारण एचपीभी (HPV) संक्रमण हो। यसबाहेक सानो उमेरमा विवाह, धेरै सन्तान जन्माउनु र सरसफाइको कमी पनि जोखिमका कारण हुन्। स्तन क्यान्सरमा भने वंशाणुगत कारण, हार्मोनल असन्तुलन र अस्वस्थ जीवनशैली मुख्य जोखिम मानिन्छ।
स्वास्थ्य संस्थाहरूले Pap Smear, VIA परीक्षण, स्तनको स्व–जाँच र म्यामोग्राफी जस्ता परीक्षणहरू नियमित रूपमा गर्न सिफारिस गरेका छन्। यी परीक्षणहरू सरल र प्रभावकारी भए पनि नेपालमा यसको प्रयोग दर अझै न्यून रहेको छ। धेरै महिलाहरू अझै पनि “मलाई केही भएको छैन” भन्ने सोचका कारण जाँच गराउन ढिलाइ गर्ने गर्छन्। साथै लाज, आर्थिक समस्या र परिवारको समर्थन अभाव पनि प्रमुख अवरोधका रूपमा देखिएका छन्।
हाम्रो समाजमा महिलाहरू अझै पनि यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषयमा खुलेर बोल्न हिच्किचाउने गर्छन्। यौन रोगका बारेमा जानकारी लुकाउने, जाँच गराउन लाज मान्ने र “समाजले के भन्छ” भन्ने डरले धेरै महिलाहरू मौन बस्ने गरेको उनीहरूको धारणा छ। कतिपय महिलाहरूले “यी विषयमा बोल्दा आफूलाई गलत रूपमा बुझिने डर हुन्छ” भन्ने अनुभव साझा गरेका छन्। यही मौनता र संकोचले रोगको जोखिम झन् बढाइरहेको छ।
स्वास्थ्य विज्ञहरूको अनुसार, ३० वर्षपछि नियमित स्वास्थ्य जाँच गराउनु अत्यन्त आवश्यक छ। असामान्य लक्षण देखिए तुरुन्त स्वास्थ्य संस्थामा पुग्नु र परिवारले सहयोग गर्नु पनि उत्तिकै महत्वपूर्ण मानिन्छ।
हाम्रो घरभित्रको सामान्य जीवनले कहिलेकाहीँ असामान्य खतरा लुकाइरहेको हुन्छ। पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर जस्ता रोगहरू समयमै पत्ता लागेमा पूर्ण रूपमा निको हुन सक्छन्। तर, सानो बेवास्ताले एउटा आमाको ज्यान लिन सक्छ, एउटा दिदीबहिनीको भविष्य समाप्त पार्न सक्छ र एउटा परिवारको खुशी खोस्न सक्छ।
त्यसैले—लक्षण कुर्ने होइन, आजै स्वास्थ्य जाँच गरौँ। समयमै गरिएको जाँच नै जीवनको सबैभन्दा ठूलो सुरक्षा हो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस