दाङ, ५ वैशाख। तुलसीपुर उपमहानगरपालिकाले बहुवर्षीय आय ठेक्का नवीकरण नगर्ने ठेकेदार कम्पनीहरूको नाममा १५ दिने सार्वजनिक सूचना जारी गरेको छ।
कार्यालयले गत बुधबार जारी सूचनामा ठेक्का सम्झौताअनुसार नवीकरण नगरे ठेक्का रद्द गरी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। पटकपटक पत्राचार गर्दा पनि सम्बन्धित कम्पनीहरू सम्पर्कमा नआएपछि नगरको ४५औँ बैठकको निर्णयअनुसार यस्तो कदम चालिएको जनाइएको छ।
कार्यालयका अनुसार सडक बत्ती तथा ट्राफिक बुथ सम्बन्धी ठेक्का अपटेक सिस प्रालि ले १५ वर्षका लागि २०७७ मंसिर १९ गते सम्झौता गरेको थियो, जसका तर्फबाट गेहेन्द्र शाह प्रतिनिधि रहेका छन्।
यस्तै, विज्ञापन कर असुलीको ठेक्का बैभव कन्स्ट्रक्सन ले ३ वर्षका लागि २०८० असोज १७ गते लिएको थियो, जसका प्रतिनिधि विक्रान्त योगी रहेका छन्।
त्यसैगरी, बसपार्क पूर्वाधार शुल्कको ठेक्का बुढाथोकी ट्रेड एण्ड सप्लायर्स ले २०७८/११/२० गते २० वर्षका लागि सम्झौता गरेको भए पनि नवीकरण नगरेको उल्लेख छ। उक्त कम्पनीका व्यवसायी भिमबहादुर बुढाथोकी रहेका छन्।
उपमहानगरपालिकाले सडक बत्ती, विज्ञापन कर र बसपार्क पूर्वाधार शुल्कलाई महत्वपूर्ण राजस्व स्रोत माने पनि अपेक्षाअनुसार संकलन हुन नसकेको जनाएको छ।
सरोकारवालाहरूले समयमै ठेक्का नवीकरण र प्रभावकारी अनुगमन नहुँदा राजस्व व्यवस्थापनमा समस्या देखिएको बताएका छन्। उनीहरूले पारदर्शी प्रक्रिया र कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस