after_navbar

स्थानीय तहबाटै नापी,मालपोत सेवा दिन २०७ पालिकाको ईच्छुक


२ घण्टा अगाडि


दाङ, १७ वैशाख । स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह गर्ने सरकारको योजनामा देशभरका २०७ स्थानीय तहले रुचि देखाएका छन्।

ad

भूमि व्यवस्था, सहकारी तथा गरिबी नि वारण मन्त्रालयले एक साताअघि इच्छुक पालिकालाई आवेदन दिन आह्वान गरेको थियो। सोहीअनुसार बिहीबारसम्म २०७ पालिकाले निवेदन पेश गरेका हुन्।

निवेदन दिने पालिकामध्ये धरान, घोराही र धनगढी उपमहानगरपालिका रहेका छन् भने हुम्लाको सर्केगाड, इलामको चुलाचुली, सर्लाहीको चक्रघट्टा र कञ्चनपुरको बेलडाँडी गाउँपालिका पनि सहभागी छन्।

यस्तै भरतपुर र पोखरा महानगरपालिकाले समेत आफ्नै क्षेत्रबाट सेवा दिन तयार रहेको जानकारी मन्त्रालयलाई गराएका छन्।

मन्त्रालयले प्राप्त निवेदनमाथि अध्ययन सुरु गरिसकेको जनाएको छ। चरणबद्ध रूपमा सेवा हस्तान्तरण गर्ने योजनाअनुसार पहिलो चरणमा केही पालिका छनोट गरिनेछ।

पालिका छनोट गर्दा सेवाग्राहीको चाप, भौगोलिक पहुँच र व्यवस्थापन क्षमता मुख्य आधार बनाइने मन्त्रालयले जनाएको छ। विशेषगरी दुर्गम तथा बढी भिडभाड हुने क्षेत्रलाई प्राथमिकता दिइनेछ।

मन्त्रालयले सम्बन्धित जिल्लाका नापी तथा मालपोत कार्यालयलाई स्थलगत अनुगमन गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। प्रतिवेदनपछि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरिनेछ।

आउँदो एक साताभित्र पहिलो चरणका पालिकामा सेवा हस्तान्तरण गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। यसले सेवाग्राहीलाई जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="