दाङ, १७ वैशाख । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। बिहिबार दिउँसो कपिलवस्तु नगरपालिका–११ निग्लिहवा स्थित तौलिहवा–चार नम्बर सडक खण्डमा लु १ ख ८७९४ नम्बरको बस दुर्घटनामा परेको हो।
तौलिहवाबाट चार नम्बरतर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडक किनारमा पल्टिँदा दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था मध्यम र १३ जनाको अवस्था सामान्य रहेको छ। घाइतेलाई तत्काल उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।
केही घाइतेको जिल्ला अस्पताल तौलिहवामा प्रारम्भिक उपचारपछि अन्यत्र रिफर गरिएको छ भने सामान्य घाइतेहरूको उपचार युनाइटेड अस्पताल ठकुरापुरामा भइरहेको छ।
बस चालक बाणगंगा नगरपालिका–४ हरिहरपुरका ३८ वर्षीय शङ्कर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस