after_navbar

रोल्पा जिप दुर्घटनाः मृत्यु भएका सबैको सनाखत


१ घण्टा अगाडि


दाङ,१८वैशाख । रोल्पमा जिप दुर्घटनामा परेर मृत्यु भएका २० जनाको सनाखत भएको छ ।जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार जिल्लाको थवाङ गाउँपालिका–१ सल्यापमा भएको जिप दुर्घटनामा जिप चालकसहित २० जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एकजना मात्र जीवित रहेका छन्। जीवित रहेका समीर कामीले जिप दुर्घटना हुनुअघि छतबाट हाम फालेर ज्यान जोगाएका हुन्।

ad

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख बुढाथोकी, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीय सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन्।

त्यसैगरी दाङको घोराही उपमहानगर–१६ रतनपुर बस्ने ५४ वर्षीया द्रौपति जिसी, ३२ वर्षीया तिला जिसी, सात वर्षीय जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, सात वर्षीय संयोग जिसी, २५ वर्षीया एलिना जिसी, उमेर नखुलेका लमजुङका यमबहादुर जिसी र घोराही–१३ बस्ने धनमाया बिष्ट रहेका छन्।

त्यस्तै, दाङ शान्तिनगर गाउँपालिका स्थायी घर भई हाल रुकुम सिस्ने—५ बस्ने जिप चालक ४२ वर्षीय बेदबहादुर विक, सिस्ने—५ की ६० वर्षीया मीना कामी र ६० वर्षीया लक्ष्मी शाह, रुकुम पूर्वकै भूमे गाउँपालिका—५ का टेकप्रसाद बस्नेत र सिस्ने ५ कै २७ वर्षीया रुक्मिणा बस्नेत रहेका छन्।

रुकुम पूर्वबाट थवाङ गाउँपालिकास्थित जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जिप बिहीबार दिउँसो करिब ३ बजे करिब ८०० मिटर तल भिरमा खसेको थियो। जिपमा चालकसहित २१ जना सवार थिए। प्रहरीका अनुसार कच्ची तथा चिप्लो सडक, लगातार वर्षा र क्षमताभन्दा बढी यात्रु बोकेका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान छ।

दुर्घटनास्थल दुर्गम भएकाले उद्धार कार्यमा कठिनाइ भएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा उद्धार कार्य सम्पन्न गरिएको हो। मृतकहरू वैशाख पूर्णिमाको अवसरमा जलजलामा लाग्ने बराह पूजामा सहभागी हुन जाँदै गरेका तीर्थयात्री रहेको जनाइएको छ।

यसैबीच, गृह मन्त्रालयले दुर्घटनाको छानबिनका लागि चार सदस्यीय समिति गठन गरेको छ। यादव ढकालको संयोजकत्वमा बनेको समितिलाई तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="