दाङ,१९ वैशाख । नेपाल पत्रकार महासंघ दाङ शाखाको २३औँ वार्षिक साधारण सभा तथा नववर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बोल्दै महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले पत्रकारितालाई बलियो बनाउन सञ्चारकर्मी आफैँ सुधारिनु पर्ने बताएका छन्।
उनले अरूलाई खबरदारी गर्नुभन्दा अघि आफूभित्र सुधार ल्याउनुपर्ने, सहने र ग्रहण गर्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए। उनले पछिल्लो समय प्रेसमाथिको दबाब क्रमशः घट्दै गएको उल्लेख गर्दै प्रेस स्वतन्त्रताको रक्षा र सुदृढीकरणका लागि निरन्तर संघर्ष आवश्यक रहेको बताए। साथै लोकतान्त्रिक मूल्य–मान्यतामाथि हुने प्रहारबारे जनतालाई स्पष्ट सूचना दिनु पत्रकारको दायित्व भएको उनको भनाइ थियो।
कार्यक्रममा महासंघका केन्द्रीय सचिव सविन प्रियासनले राज्यका केही नीति मिडियामैत्री नभएको भन्दै त्यसविरुद्ध एकजुट भएर आवाज उठाउनुपर्ने बताए। उनले राज्यबाट विज्ञापन वा सूचना नपाए पनि पत्रकारिता नरोकिने र आवश्यक परे सामाजिक सञ्जालमार्फत पनि काम गर्न सकिने धारणा राखे।
अन्य वक्ताहरूले पत्रकारिता क्षेत्र जोगाउन आपसी एकता, सहकार्य र निष्पक्ष अभ्यास आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा सचिव जे.एन. सागरले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष अमर भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। साथै पत्रकार महिलाका लागि “सुरक्षा नीति २०८२” सुशीला आचार्यले प्रस्तुत गरेकी थिइन्।
सन्तोष सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष ओपेन्द्र बस्नेतले गरेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष नारायणी रजौरेले गरेकी थिइन्।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस