काठमाडौ,२० वैशाख । बोक्सीको आरोप लगाउदै एक महिलामाथि अमानवीय गरिएको छ। रौतहटको कटहरिया नगरपालिका–९ मा बोक्सीको आरोप लगाउँदै ५५ वर्षीया पूर्व वडा सदस्य अंकलिया देवी मुसहरिनलाई केही स्थानीयले जबर्जस्ती मानव मल मूत्र खुवाएको आरोप लागेको छ।
घटनाका अनुसार छिमेकी पुकार माझीको घरमा विवाहका लागि आएका जन्तीमा सहभागी एक १० वर्षीय बालक बिरामी भएपछि उनलाई जादू टुना गरेको आरोप लगाइएको थियो।
शनिबार साँझ करिब २० जनाको समूह अंकलियाको घरमा प्रवेश गरी कुटपिट गर्दै बियरको बोतलमा मल मूत्र घोलेर जबर्जस्ती खुवाएको पीडित पक्षले जनाएको छ।
पीडिताकी छोरी सुमिला देवीका अनुसार घरमै बसिरहेका आमा छोरीमाथि एक्कासी आक्रमण गरिएको हो।
घटनामा पुकार माझी, राजेन्द्र माझी, लक्ष्मी माझी, शंकर माझी, सुरेन्द्र ठाकुर, गौरी साहलगायत एक दर्जनभन्दा बढी व्यक्तिको संलग्नता रहेको आरोप लगाइएको छ।
घटनापछि नेपाल प्रहरीको टोलीले अचेत अवस्थामा रहेकी महिलालाई उद्धार गरी उपचारका लागि पठाएको थियो। उपचारपछि उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
आरोपीहरूलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि समेत अवरोध र आक्रमणको प्रयास भएको प्रहरीले जनाएको छ। स्थिति केहीबेर तनावपूर्ण बनेपछि थप सुरक्षा सतर्कता अपनाइएको थियो।
इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी शंकरप्रसाद आचार्यका अनुसार घटनाबारे गहन अनुसन्धान भइरहेको छ र दोषीमाथि कानुनी कारबाही गरिनेछ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस