दाङ,२५ वैशाख । पूर्ण भिट्रिफाइड टायल ‘लेमिनार’ अब दाङको तुलसीपुरमा उपलब्ध हुने भएको छ । बर्दियामा उत्पादित आधुनिक प्रविधियुक्त उक्त टायलको सप्लायर्स शुक्रबार तुलसीपुरमा उद्घाटन गरिएको हो ।
सिद्धार्थ मार्वल हाउसको सहकार्यमा सञ्चालनमा ल्याइएको सप्लायर्समार्फत अब स्थानीय उपभोक्ताले ‘लेमिनार’ टायल सहज रूपमा प्राप्त गर्न सक्नेछन् । यसअघि हार्डवेयर क्षेत्रमा काम गर्दै आएको सिद्धार्थले अब आधुनिक टायल्सको बजार विस्तार गर्ने लक्ष्य लिएको सप्लार्यस सञ्चालक रामबहादुर खड्काले जानकारी दिए। उनका अनुसार तुलसीपुरसँगै अन्य जिल्लामा समेत विस्तार गर्ने तयारी भइरहेको छ ।
लुम्बिनी सेरामिक्सद्वारा उत्पादित ‘लेमिनार’ टायलले नेपाल गुणस्तर तथा नापतौल विभागबाट ‘भिट्रिफाइड टायल्स’को गुणस्तर चिन्ह प्राप्त गरेको छ । पूर्ण भिट्रिफाइड टायल अन्तर्राष्ट्रिय बजारमा उच्च गुणस्तरको रूपमा मानिन्छ ।
कम्पनीका प्रतिनिधी गौरव बस्नेतका अनुसार उक्त टायल हाल भारतका उत्तर प्रदेश, विहार र झारखण्डलगायतका क्षेत्रमा निर्यात भइरहेको छ । पछिल्लो एक वर्षदेखि मासिक करिब १५ ट्रक टायल निर्यात हुँदै आएको छ, जसको मूल्य करिब २५ लाख रुपैयाँ बराबर हुने गरेको उनले बताए ।
यस टायलको प्रमुख विशेषता भनेको पानी सोस्ने क्षमता अत्यन्तै न्यून हुनु हो, जसले गर्दा यो टिकाउ र दीर्घकालीन प्रयोगका लागि उपयुक्त मानिन्छ । साथै ठूलो साइज, पातलो संरचना र कम जोड देखिने विशेषताले यसले भित्ता तथा फ्लोरमा आकर्षक र प्रिमियम लुक प्रदान गर्ने गर्दछ ।
विगतमा यस्ता प्रविधियुक्त टायल भारत, चीन र इटलीबाट आयात गर्नुपर्ने अवस्था रहे पनि अहिले स्वदेशमै उत्पादन भई निर्यात हुन थालेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस