दाङ,६ जेठ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको २५ कठ्ठा ६ धुर जमिन अतिक्रमणमा परेको प्रारम्भिक तथ्य फेला परेको छ।
अतिक्रमित जग्गा छुट्याउन मंगलबार जिल्ला प्रशासन कार्यालय दाङको प्राविधिक टोलीले नापजाँच गरेको हो। तुलसीपुर उपमहानगरपालिकाका अमिन विक्रम गौतमका अनुसार जग्गा नापजाँच गर्दा करिब उक्त क्षेत्रमा ५० भन्दा बढी घर निर्माण गरेर बसोबास गरिएको छ।
उनका अनुसार सबैभन्दा बढी अतिक्रमण उत्तरतर्फ भएको छ भने पश्चिम रानीजरुवा क्षेत्र र पूर्वतर्फ पक्की घरहरू बनेका छन्। अस्पतालका तीन वटा कित्तामा अतिक्रमण देखिएको प्रारम्भिक रिपोर्टमा उल्लेख छ।
विवरणअनुसार अस्पतालको कित्ता नम्बर ७८ मा रहेको ५ विघा ६ कठ्ठा ३ धुरमध्ये करिब २३ कठ्ठा जमिन अतिक्रमणमा परेको छ। यस्तै कित्ता नम्बर ७५ र २६८४ मा पनि केही भाग अतिक्रमण भएको पाइएको छ।
अस्पतालको कुल जग्गा करिब ७ विघा रहेको छ।
अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले जग्गा अतिक्रमणका कारण अस्पताल विस्तारमा समस्या भइरहेको बताएका छन्। विस्तृत प्रतिवेदन आएपछि जग्गा खाली गर्ने प्रक्रिया अघि बढाइने उनले जानकारी दिए।
यसैबीच, दाङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल सहितको टोलीले अतिक्रमित क्षेत्रको अनुगमन समेत गरेको छ।
प्रतिक्रिया दिनुहोस