दाङ,१३जेठ। पर्याप्त बजेट नहुँदा देशमा रासायनिक मलको आपूर्ति प्रभावित भएको छ। कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले आवश्यक जति मल किन्न नसकिएको बताएका छन् । उनका अनुसार बजेट कम हुँदा आगामी वर्ष मलको अभाव हुन सक्ने चिन्ता बढेको छ।
नेपालमा वर्षमा करिब ९ लाख मेट्रिक टन मल आवश्यक पर्छ। तर सरकारले बढीमा ५ लाख मेट्रिक टन बराबरको मात्रै बजेट दिने गरेको छ। यस वर्ष मलको मूल्य बढेकाले झन् कम खरिद गर्नुपरेको कम्पनीले जनाएको छ।
हाल कम्पनीसँग रहेको मल असार मसान्तसम्म मात्रै पुग्ने बताइएको छ। सांसदहरूले किसानलाई समस्या नपरोस् भनेर समयमै मल व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्।
कृषि मन्त्री गीता चौधरीले मल अभाव हुन नदिन भारतबाट ५० हजार मेट्रिक टन मल ल्याउने प्रक्रिया अघि बढाइएको जानकारी दिईन। साथै, रासायनिक मलसँगै जैविक मल प्रयोगमा पनि जोड दिइएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस