after_navbar

मुस्ताङमा लेक लागेर १३ पर्यटकको मृत्यु


० मिनेट अगाडि


काठमाण्डौ,१७ जेठ । मुस्ताङमा लेक (उचाइको असर) लागेर चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म १३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये ९ जना विदेशी र ४ जना नेपाली पर्यटक रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार उच्च उचाइका कारण अक्सिजन कम हुँदा यस्तो समस्या देखिने गर्छ। मृत्यु हुनेमा नेपालीतर्फ ३ पुरुष र १ महिला तथा विदेशीमा ७ पुरुष र २ महिला रहेका छन्।

मुक्तिनाथ दर्शन गर्न आएका पर्यटकहरू वारागुङ मुक्ति क्षेत्र र घरपझोङ गाउँपालिकामा बिरामी भई जोमसोम अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका हुन्।

मुस्ताङमा विशेष गरी भारतीय पर्यटकहरूमा लेक लाग्ने समस्या बढी देखिएको छ। समथर ठाउँबाट सिधै उच्च हिमाली क्षेत्रमा पुग्दा शरीरले अनुकूलन गर्न नसक्दा यस्तो हुन्छ।

लेक लाग्ने समस्या कम गर्न विभिन्न निकायले सचेतनामूलक कार्यक्रम, साइनबोर्ड र जानकारी दिने काम गर्दै आएका छन्। होटलहरूमा अक्सिजन सिलिन्डर र औषधिको व्यवस्था पनि गरिएको छ।

स्वास्थ्यकर्मीका अनुसार उच्च स्थानमा जाँदा बिस्तारै यात्रा गर्नु, बीचमा विश्राम लिनु र शरीरलाई अनुकूल बनाउनु आवश्यक हुन्छ। विशेषगरी वृद्ध, बिरामी र शारीरिक रूपमा कमजोर व्यक्तिलाई बढी जोखिम हुन्छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="