चितवन,८ असार । पूर्व–पश्चिम राजमार्गमा इभी भ्यान दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन्। नवलपुरको गैँडाकोट नगरपालिका–१० पितौजीस्थित एपीएफ क्याम्प नजिक पोखराबाट कपिलवस्तुतर्फ जाँदै गरेको बा.प्र.०२–०३ च १२०५ नम्बरको इभी भ्यान अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि चितवनस्थित नयाँ मेडिकल कलेज पठाइएको छ। घाइतेमध्ये प्युठान माण्डवी गाउँपालिका–२ निवासी २४ वर्षीय चालक विष्णु घर्तीको शरीरका विभिन्न भागमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको छ।
त्यसैगरी कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ निवासी ३१ वर्षीय अर्बिन्द्र अग्रवालको हातखुट्टामा चोट लागेको छ भने अवस्था सामान्य रहेको छ।
उनकी २६ वर्षीया श्रीमती प्रभा अग्रवालको पनि हातखुट्टामा चोट लागेको छ र अवस्था सामान्य रहेको छ। उनीहरूका १८ महिनाका छोरा ऋषी अग्रवालको टाउको तथा हातखुट्टामा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको छ।
यस्तै, कृष्णनगर–२ निवासी २६ वर्षीया रिधि सिंहघानियाको दाहिने कान तथा हातखुट्टामा चोट लागेको छ र अवस्था सामान्य रहेको छ।
सोही स्थानका २३ वर्षीया शेरी सिंह, १७ वर्षीया सिवानी अग्रवाल र २६ वर्षीय रिषभ अग्रवाल पनि घाइते भएका छन्। उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस