दाङ,९ असार । सेवा प्रतिष्ठान नेपालले तुलसीपुरका विभिन्न वडाका बालबालिकालाई पोषणयुक्त खाना वितरण गरेको छ। बालबालिकाको स्वास्थ्य सुधार तथा कुपोषण न्यूनीकरण गर्ने उद्देश्यले सेवा प्रतिष्ठानले बालबालिकालाई पोषणयुक्त खाना वितरण गरेको हो ।
प्रतिष्ठानद्वारा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १०, १३, १४ र १५ का २५९ जना बालबालिकालाई लक्षित गरी पोषणयुक्त खाना वितरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वडा नम्बर १० का वडा अध्यक्ष यमबहादुर केसीले समय सापेक्ष सबै कुराहरू विकसित बन्दै गए पनि कुपोषणको अवस्था भने जटिल बन्दै गएको बताए।
पोषणयुक्त खानेकुराका बारेमा बेवास्ता गरिँदा बालबालिकाहरूको शारीरिक ,मानसिक ,सामाजिक र संवेगात्मक विकास उमेर अनुसार हुन नसकेको उल्लेख गरे। उनले घरमा पाइने खानेकुराहरूको मात्रा मिलाएर खुवाउन सके खान सकेपनि ठूलो राहत पुग्ने बताएका थिए।
पोषणयुक्त खाना वितरण गर्दै सेवा प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा. नहकुल केसीले आमा र बालबालिकाको स्वास्थ्य सुधारमा विशेष ध्यान दिन आवश्यक रहेको बताए। उनले स्वस्थ आमा र स्वस्थ बालबालिकाले नै समग्र समाजको स्वास्थ्य सुनिश्चित गर्ने उल्लेख गरे।
जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले स्वास्थ्य नै समृद्धिको प्रमुख आधार भएको बताउँदै यस क्षेत्रमा राज्यले पर्याप्त लगानी गर्नुपर्ने धारणा राखे। उनका अनुसार समुदायमा अझै कडा तथा मध्यम कुपोषण भएका बालबालिका रहेका छन्। खानपानसम्बन्धी व्यवहारमा सुधार नआउँदा बालबालिकाको तौलसमेत अपेक्षाअनुसार वृद्धि हुन नसकेको उनले बताए।
गर्भवती महिलामा समेत पोषणको अभाव देखिएको उल्लेख गर्दै हाल करिब ४१ प्रतिशत गर्भवती महिलामा रक्तअल्पताको समस्या रहेको जानकारी दिए।
त्यस्तै, स्वास्थ्यचौकी इन्चार्ज बिना केसी खड्काले बालबालिकाको समुचित वृद्धि विकासका लागि पोषणयुक्त खाना अत्यावश्यक रहेको बताइन।
पोषण फोकल पर्सन टरिगाउँ स्वास्थ्यचौकीकी उषा कडेलले गत वर्ष पनि यस्तै कार्यक्रम सञ्चालन गरिएको जानकारी दिँदै यस वर्ष ५ वर्षमुनिका कुपोषित बालबालिकालाई विशेष प्राथमिकतामा राखिएको बताइन् ।
उनले बालबालिकाको वृद्धि विकासको करिब ८० प्रतिशत भाग दुई वर्षभित्र नै हुने भएकाले सो अवधिमा पोषणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिईन।
स्वास्थ्यचौकीबाट नियमित रूपमा पोषणसम्बन्धी परामर्श प्रदान गरिँदै आएको र बालबालिकालाई विशेषगरी सर्वोत्तम लिटो बनाएर खुवाउन आग्रह गरिएको उनले बताइन् ।
कार्यक्रम सेवा फाउन्डेसन नेपालका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा सम्पन्न भएको थियो
प्रतिक्रिया दिनुहोस