after_navbar

ट्राफिक प्रहरीलाई सवारी चालकसँग हात मिलाउन रोक


असार १०, २०८३


काठमाडौ,१० असार । ड्युटीमा खटिएका ट्राफिक प्रहरीले अब सवारी चालक तथा अन्य सेवाग्राहीसँग हात मिलाउन नपाउने भएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले मातहतका सबै ट्राफिक युनिटलाई परिपत्र जारी गर्दै यस्तो निर्देशन दिएको हो।

मंगलबार ट्राफिक प्रहरी कार्यालयका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीद्वारा हस्ताक्षरित पत्रमार्फत उक्त निर्देशन दिइएको हो।

परिपत्रमा ट्राफिक प्रहरीले चेकिङ तथा अन्य ड्युटीका क्रममा चालक तथा सेवाग्राहीसँग हात मिलाउने दृश्यहरू सार्वजनिक भई सामाजिक सञ्जाल तथा आम नागरिकबाट गुनासो आएको उल्लेख गरिएको छ।

सोही कारण अबदेखि कुनै पनि ट्राफिक प्रहरी कर्मचारीले ड्युटीका बेला सवारी चालक लगायत अन्य सेवाग्राहीसँग हात नमिलाई टाढैबाट ‘नमस्कार’ गरी सम्मान व्यक्त गर्नुपर्ने निर्देशन दिइएको छ।

कार्यालयले उक्त निर्देशनको पूर्ण पालना गर्न/गराउन सबै युनिटलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस

data-href="