काठमाडौ,११ असार । कक्षा १२ को नतिजाप्रति विद्यार्थीहरूबाट असन्तुष्टि बढेपछि सरकारले उत्तरपुस्तिकाको नमूना परीक्षण गर्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षणसँगै परीक्षाफल र तथ्याङ्क प्रविष्टिको पुनः जाँच गर्न समिति गठन गरेको हो।
शिक्षामन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जालमार्फत मन्त्रालयका उपसचिव तथा पाठ्यक्रम विकास केन्द्रका उपसचिवको प्रतिनिधित्व रहने गरी समिति गठन गरिएको जानकारी दिएका छन्।
मन्त्री पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया प्रति आफू स्पष्ट र विश्वस्त रहेको जनाउँदै यसअघि नै आफ्नो धारणा सार्वजनिक गरिसकेको बताएका छन्।
नतिजाप्रति असन्तुष्ट विद्यार्थीहरूले काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन्। राम्रो परीक्षा दिए पनि अपेक्षाभन्दा कम ग्रेड आएको उनीहरूको गुनासो छ। उनीहरूले उत्तरपुस्तिका पुनः परीक्षण गर्न माग गरेका छन्।
विद्यार्थीहरूको शान्तिपूर्ण आन्दोलनको सम्मान गर्नुपर्ने बताउँदै मन्त्री पोखरेलले सामाजिक सञ्जालमा आन्दोलनरत विद्यार्थीप्रति नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन्।
विद्यार्थीहरूले त्रुटिपूर्ण नतिजा सार्वजनिक गरेर सरकारले आफ्नो मेहनत र भविष्यसँग खेलवाड गरेको आरोप लगाएका छन्।
प्रतिक्रिया दिनुहोस