कैलाली,११ असार। कैलालीमा ग्रिनेड विस्फोट हुँदा एक जवानको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। नेपाली सेनाको नियमित तालिमका क्रममा भएको विस्फोटमा परेर नेपाली सेनाका हुद्दा पदमा कार्यरत हिमाल विक्रम बिष्टको मृत्यु भएको हो । उनको उपचारका क्रममा मृत्यु भएको हो। यस्तै घाइते सहसेनानी हिमराज जोशीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन्।
प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका–३ गोराङ्गेस्थित सुदूरपश्चिम पृतना तालिम शिक्षालयको गोराङ्गे ब्यारेकबाट स्थानीय मोहन्याल गाउँपालिका–७ जाल्पा सामुदायिक वन क्षेत्रमा फायरिङ अभ्यास भइरहेको थियो। सोही क्रममा ग्रिनेड पड्काउँदा बिष्टको दाहिने हातको हत्केला र शरीरका विभिन्न भागमा छर्रा लागेर गम्भीर घाइते भएका थिए।
विस्फोटका क्रममा नजिकै रहेका सहसेनानी जोशी पनि छर्रा लागेर घाइते भएका थिए। घटनाबारे बिहीबार बिहान करिब पौने १० बजे नेपाली सेनाले इलाका प्रहरी कार्यालय चिसापानीलाई जानकारी गराएको थियो। त्यसबेला घाइतेहरूको उपचार ब्यारेकमै भइरहेको थियो।
दुवै घाइतेलाई करिब साढे १० बजे लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका लागि लगिएको थियो। उपचारकै क्रममा मध्यान्ह १२ बजे बिष्टको मृत्यु भएको हो भने जोशीलाई त्यसअघि नै थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे नेपाली सेनाले आन्तरिक अनुसन्धान सुरु गर्ने जनाएको छ
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस