कमला वली हत्या प्रकरण: अदालतको आदेशपछि चारै जना थुनामा
४ घण्टा अगाडि
दाङ,१३ असार । कमला खड्का ओली हत्या प्रकरणमा उच्च अदालत तुलसीपुरले रिहा गरिएका चार जनालाई थुनामा राख्न आदेश दिएको छ। तुलसीपुर उपमहानगरपालिका १९ कि वलीको हत्या प्रकरणमा उच्च अदालत तुलसीपुरले चारै जना आरोपितलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
यसअघि जिल्ला अदालत दाङले मुख्य अभियुक्त श्रीमान् गोपाल वलीलाई मात्र थुनामा पठाउने र अन्य तीन जना कर्णबहादुर ओली, टीका केसी र पुतला वलीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध पीडित पक्षले उच्च अदालतमा पुनरावेदन गरेको थियो।
उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले बिहीबार जिल्ला अदालतको आदेशलाई ‘बेरितको’ ठहर गर्दै सबै प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राख्न आदेश दिएको हो।
अदालतले शव परीक्षण प्रतिवेदन, घटनास्थल मुचुल्का तथा साक्षी बयानलाई आधार मानेको छ। पोस्टमार्टम रिपोर्टअनुसार मृतकको मृत्यु टाउकोमा लागेको गहिरो चोटका कारण भएको देखिएको छ।
घटनास्थलबाट चारवटा दाउराका टुक्रा बरामद भएको र मृतकको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक देखिएको तथ्यलाई समेत अदालतले महत्व दिएको छ।
यसैगरी, छोराछोरी तथा प्रत्यक्षदर्शीको बयानलाई पनि अदालतले प्रमाणका रूपमा स्वीकार गरेको छ।
मुद्दामा पीडित पक्षका तर्फबाट अधिवक्ता मोहनप्रसाद धिताल, प्रदीपकुमार गौतम र विजय पोखरेलले बहस गरेका थिए भने विपक्षीका तर्फबाट सहन्यायाधिवक्ता महेशप्रसाद खत्री र अधिवक्ता कुमारराज श्रेष्ठले बहस गरेका थिए।
उच्च अदालतको यस आदेशसँगै अब सबै प्रतिवादीहरू थुनामै रहेर मुद्दाको अन्तिम टुंगो कुर्नुपर्ने भएको छ।
उक्त घटना गएको चैत ११ गते वलीको आफ्नै घरमा भएको थियो। हत्या प्रकरणमा संलग्न मुख्य अभियुक्त गोपाल वली नेपाल सरकारका लेखा अधिकृतसमेत रहेको खुलेको छ।
प्रतिक्रिया दिनुहोस