काठमाडौ,१३ असार। अबको तीनदेखि चार दिनभित्र मनसुन देशभर फैलिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्रमा मनसुन विस्तार हुने अनुमान गरिएको छ।
यस वर्ष सरदर मितिभन्दा करिब ६ दिन ढिला गरी असार ५ गते ९जुन १९० मा पूर्वी क्षेत्रबाट प्रवेश गरेको मनसुन असार ८ गतेसम्म आइपुग्दा गण्डकी र लुम्बिनी प्रदेशसम्म फैलिएको थियो। तर हाल मनसुन कमजोर अवस्थामा रहेको महाशाखाले जनाएको छ।
देशका बाँकी क्षेत्रमा अहिले पनि पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेकाले अपेक्षित वर्षा हुन सकेको छैन। वर्षा नहुँदा लुम्बिनीसहित पश्चिम तराईका क्षेत्रमा अत्यधिक गर्मी बढेको छ भने धान रोपाइँसमेत प्रभावित भएको छ।
आज कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका केही स्थानमा, साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
त्यस्तै कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।यसैबीच आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहरको सम्भावना कायम रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस