आज धान दिवस: लुम्बिनीमा २० प्रतिशत मात्र धान रोपाइँ
३ घण्टा अगाडि
दाङ,१५ असार । आज असार १५, राष्ट्रिय धान दिवस। “मुरी फलाउन मानो रोप्ने” दिनका रूपमा मनाइने यस अवसरमा किसानहरू खेतखेतमा धान रोपाइँमा व्यस्त देखिएका छन्।
यस वर्ष समयमा पर्याप्त वर्षा नहुँदा रोपाइँ ढिलो हुने चिन्तामा रहेका किसानलाई आज बिहानदेखि परेको वर्षाले केही राहत दिएको छ। वर्षासँगै रोपाइँको गति पनि बढ्ने अपेक्षा गरिएको छ।
लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका १२ जिल्लामा कुल ३ लाख १ हजार ३७२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने लक्ष्य रहेकामा हालसम्म ६२ हजार ६७० दशमलव ८७ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ। यो कुल क्षेत्रफलको २० दशमलव ८ प्रतिशत मात्र हो। उक्त तथ्याङ्क गत वर्षको सोही अवधिको तुलनामा झण्डै ४ प्रतिशतले कम रहेको कृषि प्रचार अधिकृत नवीन गैरेले जानकारी दिए।
जिल्लागत विवरणअनुसार दाङमा १५ प्रतिशत, बर्दियामा १९ दशमलव ३१ प्रतिशत, कपिलवस्तुमा १५ दशमलव ८ प्रतिशत, अर्घाखाँचीमा ११ दशमलव २७ प्रतिशत, प्यूठानमा ८ प्रतिशत तथा रोल्पामा ४ दशमलव ८ प्रतिशत रोपाइँ भएको छ।
पाल्पामा सबैभन्दा बढी ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यसपछि रुपन्देहीमा ४३ प्रतिशत, गुल्मीमा २५ दशमलव ७७ प्रतिशत, रुकुम (पूर्व) मा २५ प्रतिशत तथा नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा २४ दशमलव ५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ।
सबैभन्दा कम रोपाइँ बाँके जिल्लामा भएको छ। त्यहाँ कुल ३३ हजार ७८० हेक्टरमध्ये केवल १६८ दशमलव ९ हेक्टर अर्थात् ० दशमलव ५ प्रतिशत क्षेत्रमा मात्र रोपाइँ सम्पन्न भएको छ।
मनसुन सक्रिय बन्दै जाँदा आगामी दिनमा धान रोपाइँको गति अझै तीव्र हुने अपेक्षा गरिएको छ
प्रतिक्रिया दिनुहोस