दाङ, १५ असार । प्रहरीले यात्रु तानातान गर्ने सवारी चालकलाई तुलसीपुरबाट पक्राउ हरेको छ। यात्रु तानातान गरी हैरानी दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले दुई जना सवारी चालकलाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उक्त भिडियो सार्वजनिक भएसँगै अनुसन्धान सुरु गरिएको थियो। त्यसपछि खटिएको प्रहरी टोलीले लु.प्र.०१-००११६८ नम्बर र लु.प्र.०१-००१२६ नम्बरका सवारी साधनका चालकलाई सोमबार पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका दुवै चालकको नाम भने सार्वजनिक गरेको छैन।
आइतबार तुलसीपुरको बहिनीचोक नजिकै बस्नेत फेन्सी स्टोर अगाडि दुई वटा ईभी गाडीका चालकहरूले यात्रु तानातान गरी हैरानी दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।
प्रहरीले यात्रुमाथि यस्ता दुर्व्यवहार नगर्न र नगराउन सबैमा अनुरोध गर्दै यसप्रति सचेत रहन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस