दाङ,१६ असार। तीन दिनसम्म देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज र भोलि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मुसलधारे वर्षा हुने सम्भावना रहेको छ। केही स्थानमा आरीघोप्टे वर्षा समेत हुन सक्ने बताइएको छ।
यस्तै पर्सि पनि पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्राधिकरणका अनुसार आगामी केही दिन अकस्मात् बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव तथा शहरी र तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्नेछ।
प्राधिकरणले वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग माग्न ११४९, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरी बल नेपालको १११४ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। यस वर्ष नेपालमा मनसुन जुन १९ ९असार ५० गते भित्रिएको भए पनि अझै देशभर पूर्ण रूपमा फैलिन सकेको छैन।
प्रतिक्रिया दिनुहोस