दाङ, १६ असार । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत ११ औँ बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार बैठकमा आगामी आर्थिक वर्षको ‘राजस्व तथा व्ययको वार्षिक अनुमान’माथि सैद्धान्तिक छलफल हुने कार्यसूची रहेको छ।
छलफलमा प्रदेशसभा सदस्यहरूले आफ्ना धारणा राख्नेछन् भने उठेका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले दिने कार्यक्रम रहेको छ।
त्यसैगरी मन्त्री कार्कीले ‘विनियोजन विधेयक’ प्रदेशसभामा औपचारिक रूपमा पेस गर्ने कार्यसूची पनि तय गरिएको छ।
बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले ‘थारु समुदायका प्रथाजनित परम्परासम्बन्धी विधेयक’ सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेस गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस