दाङ, १६ असार । दंगीशरण गाउँपालिका-६ नम्बरको वडा कार्यालयले डिजिटल नागरिक बडापत्र सन्चालनमा ल्याएको छ। वडाको सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यसहित उक्त डिजिटल बडापत्र सञ्चालनमा ल्याएको हो।
मंगलबारदेखि औपचारिक रूपमा लागू गरिएको उक्त प्रणालीमार्फत सेवाग्राहीले वडा कार्यालयमै राखिएको डिजिटल स्क्रिनबाट उपलब्ध सेवाहरू, आवश्यक कागजात, दस्तुर तथा प्रक्रियासम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
वडाको सिलिङ बजेटअन्तर्गत विनियोजित १ लाख ९० हजार रुपैयाँमध्ये १ लाख ८५ हजार रुपैयाँ खर्च गरी उपकरण खरिददेखि जडानसम्मको कार्य गाउँपालिकाले सहयोगमा गरिएको वडा कार्यालयले जनाएको छ।
डिजिटल बडापत्रमा सेवासम्बन्धी विवरणसँगै जनप्रतिनिधि तथा कर्मचारीहरूको नाम, सम्पर्क नम्बर र तस्वीरसमेत समावेश गरिएको छ, जसले सेवाग्राहीलाई सम्बन्धित व्यक्तिसम्म पुग्न थप सहज बनाउने विश्वास गरिएको वडा अध्यक्ष रोशनजंग शाहले जानकारी दिए।
शाहका अनुसार डिजिटल प्रणालीमार्फत अनावश्यक झन्झट हटाई सेवा प्रक्रियालाई सरल बनाउने लक्ष्य राखिएको छ। उनले भने- “सामान्य जानकारीका लागि पनि सेवाग्राही अलमलिनुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले यो पहल गरिएको हो।”
नयाँ व्यवस्थासँगै सेवाग्राहीले लामो समय लाइन बस्नुपर्ने वा सामान्य जानकारीकै लागि कर्मचारीमा निर्भर रहनुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको वडा अध्यक्ष शाहले बताए।
प्रतिक्रिया दिनुहोस