भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कारबाहीमा
२ घण्टा अगाडि
दाङ,२८ असार । वैदेशिक रोजगार विभागले अनुमति बिना भारतस्थित विमानस्थल प्रयोग गरी नेपाली श्रमिकलाई विदेश पठाउने १५९ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ।
वैदेशिक रोजगार ऐन, २०६४ विपरीत कार्य गरेको ठहर गर्दै ती कम्पनीलाई पहिलो पटक सचेत गराइएको विभागले जनाएको छ। विभागले २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान विवरण माग गरी अनुगमन गरेको थियो।
सञ्चालनमा रहेका १ हजार १ सय १७ इजाजतप्राप्त संस्थामध्ये ६सय ७८ कम्पनीले मात्र विवरण बुझाएका थिए। तीमध्ये १सय ५९ कम्पनीले विभागको स्वीकृतिबिनै भारतका विमानस्थल प्रयोग गरेको भेटिएको हो।
विवरण नै नबुझाउने ४सय ३९ म्यानपावर कम्पनीलाई पनि ऐन उल्लंघन गरेको ठहर गर्दै सचेत गराउँदै पुनः विवरण पेश गर्न निर्देशन दिइएको छ।
त्यसैगरी, नियम बारम्बार उल्लंघन गर्ने आठ कम्पनीलाई जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको छ। तीमध्ये तीन कम्पनीले पुनः भारतबाट श्रमिक पठाएको र पाँचले विवरण नबुझाएको कारण कारबाहीमा परेका हुन्।
विभागले कानुन र निर्देशनको पूर्ण पालना गर्न सबै व्यवसायीलाई आग्रह गर्दै उल्लंघन दोहोरिए थप कडा कारबाही गरिने चेतावनी दिएको छ।
वैदेशिक रोजगार ऐनअनुसार श्रमिकलाई स्वदेशी विमानस्थलमार्फत पठाउनुपर्ने र अन्य देशको विमानस्थल प्रयोग गर्नुपरेमा विभागको अनुमति अनिवार्य हुन्छ।
प्रतिक्रिया दिनुहोस