after_navbar

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द


२ घण्टा अगाडि


दाङ,२९ असार । ल्हेन्दे खोलामा पानीको सतह बढ्दै लेदोयुक्त बाढी आउन थालेपछि पूर्वसावधानीस्वरूप १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन आइतबार साँझदेखि बन्द गरिएको छ।

आयोजनाका प्रमुख सन्तोष अधिकारीका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै विद्युत् उत्पादन रोकिएको हो। खोलाको अवस्था सामान्य भएमा सोमबारबाट पुनः उत्पादन सुरु गरिने उनले जानकारी दिएका छन्।

गत वर्ष असार २४ गते आएको बाढीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा ठूलो क्षति पुर्‍याएको थियो। त्यसपछि मर्मत तथा पुनर्निर्माणपछि सञ्चालनमा आएको आयोजना पुनः क्षतिबाट जोगाउन सुरुङतर्फ पानी लैजाने गेट बन्द गरिएको प्राविधिकहरूले बताएका छन्।

रसुवागढी हाइड्रोपावरका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार खोलाको बहाव निरन्तर अनुगमन भइरहेको छ र अवस्था सुरक्षित देखिएमा चाँडै उत्पादन पुनः सुरु गरिनेछ।

यस्तै, भोटेकोशी नदीमा पानीको बहाव बढेपछि रसुवागढी भन्सार यार्डमा रहेका मालवाहक तथा आयातित सवारीसाधन सुरक्षित स्थानमा सारिएको छ। बाढीको जोखिमलाई ध्यानमा राख्दै यार्डको थप सुरक्षा र तटबन्ध निर्माण गर्न माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="