काठमाडौ,१०साउन। त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन सङ्काय अन्तर्गत ‘मास्टर्स अफ बिजनेस स्टडिज ९एमबिएस०’ को प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा केही व्यक्ति पक्राउ परेका छन्।
शिक्षामन्त्री सस्मित पोखरेलको निर्देशनमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।
साउन ८ गते स्नातकोत्तर तहको ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमार्फत प्रश्नपत्र बाहिरिएको थियो। घटनापछि व्यवस्थापन सङ्काय डिनको कार्यालयले साइबर ब्युरोलाई अनुसन्धान तथा कारबाहीका लागि पत्राचार गरेको थियो।
यसैबीच परीक्षा नियन्त्रण महाशाखाले घटनाको छानबिन गर्न प्रा. डा. अच्युत ज्ञवाली को संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।
समितिमा सहप्राध्यापक पुष्कर रैखला र सहप्राध्यापक महेशराज ओझा सदस्य रहेका छन्। समितिलाई सात कार्यदिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।
प्रतिक्रिया दिनुहोस